नियम ५८
न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठक
(१) न्यूनतम पारिश्रमिक निर्धारण समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) समितिको बैठकमा नेपाल सरकार, रोजगारदाता र ट्रेड युनियन सहित तीनवटै पक्षको प्रतिनिधित्व हुने गरी पचास प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति भएमा बैठकको गणपुरक सङ्ख्या पुगेको मानिनेछ।
(३) सदस्य-सचिवले बैठक हुने लिखित सूचना र बैठकमा छलफल हुने कार्यसूची बैठक बस्ने मितिभन्दा कम्तीमा तीन दिन अगावै सदस्यलार्इ उपलब्ध गराउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम  बैठक बोलाउँदा नियम ५७ को उपनियम  (१) को खण्ड  (ङ) र (च) बमोजिमको कुनै सदस्य समितिको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएमा निजको सट्टा वैकल्पिक सदस्यलार्इ समितिको बैठकमा आमन्त्रण गर्नु पर्नेछ।
(५) समितिले आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विज्ञलार्इ र कुनै रोजगारदाताको व्यवसायको प्रकृति र त्यस्तो व्यवसाय सञ्चालन हुने भौगोलिक क्षेत्रमा कार्यरत श्रमिकको लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्दा सम्बन्धित रोजगारदाता र श्रमिकका प्रतिनिधिलार्इ समेत बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(६) समितिको बैठकको निर्णय सदस्य-सचिवले प्रमाणित गर्नेछ।
(७) समितिको निर्णय यथासम्भव सर्वसम्मतिको आधारमा हुनेछ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गर्नेछ ।